रोनाल्डो र मेस्सीबीचको बहुप्रतीक्षित खेल आज

रोनाल्डो र मेस्सीबीचको बहुप्रतीक्षित खेल आज



काठमाडौं । विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीचको बहुप्रतीक्षित खेल आज हुँदै छ । यी दुई विश्व फुटबलका हस्ती क्लब फ्रेण्ड्ली म्याचमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूबीचको खेल नेपाली समयअनुसार बिहीबार राति ११ः४५ देखि साउदी अरेबियामा सुरु हुँदैछ ।

हाल मेस्सी अमेरिकन क्लब इन्टर मियामी तथा रोनाल्डो साउदीको अल नासरमा आबद्ध छन् । उनीहरूबीचको बहुप्रतीक्षित खेल हेर्न अहिले लाखौँ फुटबल समर्थक व्यग्र प्रतीक्षामा छन् ।

उनीहरु मैदानमा एकअर्काविरुद्ध नभिडेको एक वर्ष बितिसकेको छ । उनीहरूले एकआपसमा पछिल्लोपटक गत वर्षको माघमा खेलेका थिए । त्यसपछि भने समर्थकले यी दुई स्टारबीचको प्रतिस्पर्धा देख्न पाएका छैनन् । तर, अब भने मेस्सी र रोनाल्डोबीचको भिडन्त देख्न पाइने भएको हाे ।

धेरै खेल समर्थक र विश्लेषकले यो नै मेस्सी र रोनाल्डोबीच हुने अन्तिम खेल भनेका छन् ।

मेस्सी र रोनाल्डोले हालसम्म ३६ पटक एकअर्काविरुद्ध खेलेका छन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र ११ खेलमा रोनाल्डोको टिम विजयी भएका छन् । बाँकी ९ खेल भने बराबरीमा सकिएको थियाे । जसमा मेस्सीले २२ गोल गरेका छन् । यस्तै, उनले १२ वटा गोलका लागि असिस्ट प्रदान गरेका छन् । त्यस्तै, रोनाल्डोले मेस्सीविरुद्धको खेलमा २१ गोल गर्दा एक असिस्ट दिएका छन् । यी दुई सुपरस्टार पहिलोपटक सन् २००८ मा एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए ।

जारी साउदी भ्रमणमा मेस्सी नेतृत्वको मियामी पहिलो क्लब फ्रेण्ड्ली म्याचमा अल हिलालविरुद्ध ४–३ गोल अन्त्रले पराजित भएको थियो । सो खेलमा मेस्सीले मेनाल्टीमार्फत एक गोल गरे । उक्त खेलमा उनी मैदान बाहिरिएलगत्तै मियामीले गोलको सामना गर्‍यो । अब मियामी अल नासरलाई हराउँदै साउदी भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ ।