काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडाैं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए ।

आज रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको बाँकी अवधिमा थप मिहिनेत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडाैं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताए । उनले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिए । साथै उनले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न निर्देशन दिए ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न र समस्याको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपायहरू पहिल्याइ आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको कुरामा जोड दिए ।