सातै प्रदेशका मुख्यमन्त्री हेरफेर हुँदै

सातै प्रदेशका मुख्यमन्त्री हेरफेर हुँदै


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सत्ता गठबन्धनले सातै प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर गर्ने भएको छ । यस विषयमा बिहीबार शीर्ष नेताहरुबीच घनिभूत छलफल भएको बालुवाटार स्रोतले ग्लोब नेपाललाई बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेता र सातै प्रदेशका मुख्यमन्त्रीबीचको बैठकमा प्रदेश नेतृत्वको समय अवधि र आलोपालोबारे छलफल भएको थियो ।

बैठकले गठबन्धनका शीर्ष नेताहरुलाई नै सबै प्रदेश सरकारका मुख्यमन्त्रीहरुको समय अवधि तोक्ने जिम्मा दिएको बुझिएको छ । कुनै पनि दलको बहुमत नभएको भन्दै सबै प्रदेश सरकारमा दलको सिट संख्याअनुसार अधिकतम र न्यूनतम समय निर्धारण गर्ने सहमति भएको हो । मधेश प्रदेशमा सुरुमा जनमत र त्यसपछि कांग्रेसले सरकार चलाउने सहमति भएको थियो । तर, कति समय भन्ने एकीन छैन । अरु प्रदेशमा पनि मुख्यमन्त्री आलोपालो गर्न गठबन्धन सहमत छ ।

सत्ता र सुविधामा मात्र वर्तमान सरकार केन्द्रित भयो भनेर आलोचना भइरहेका बेला प्रचण्ड सरकारले प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर गरेर अर्को अलोकप्रिय निर्णय गर्न लागेको छ । सबैले सत्ताको स्वाद चाख्न पाउनुपर्छ भन्ने मान्यताका आधारमा मुख्यमन्त्री हेरफेर हुन लागेको बताइन्छ । त्यत्ति मात्र होइन, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सत्ताको लोभ देखाएर इसारामा सकिन्छ भन्ने प्रमाण पेस गर्न प्रधानमन्त्री दाहालले यो रणनीति अख्तियार गरेका हुन् भन्ने विश्लेषण एकथरिले गरेका छन् ।