इजरायलद्वारा दक्षिणी सहर रफाहमा पनि आक्रमण सुरु

इजरायलद्वारा दक्षिणी सहर रफाहमा पनि आक्रमण सुरु

संयमित हुन अमेरिकाको आग्रह


ग्लोब नेपाल
54
Shares

संयुक्त राज्य अमेरिकाले नागरिक सुरक्षा योजना बिना गाजाको दक्षिणी सहर रफाहमा इजरायलले सुरु गरेको आक्रमणलाई समर्थन नगर्ने बताएको छ । लाखौं शरणार्थीहरुको सुरक्षा योजना बिना हमला गर्दा ठूलो विपद आइपर्ने भन्दै संयमित हुन आग्रह गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा सैन्य कारबाही थाल्न निर्देशन दिएपछि अमेरिकाले कडा चेतावनीस्वरुप यो प्रतिक्रिया दिएको हो । शरणार्थी शिविरमा गरिने सैन्य कारबाहीले निर्दोश नागरिकको हताहति हुने भन्दै सर्वसाधारणको सुरक्षा योजना मुख्य भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभएको छ ।

गाजामा सञ्चालित राष्ट्र संघीय सहायता निकाय, UNRWA का प्रमुखले उत्तरी गाजामा तीन लाख शरणार्थी भोकमरीको जोखिममा रहेको जनाएका छन् । इजरायलले वर्षको सुरुदेखि नै त्यहाँको सहायता अभियान अवरुद्ध गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली सेनाले गरेको कारबाहीमा १३० जनाको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन् ।

गत अक्टोबर ७ यता गाजामा इजरायली हमलामा करिव २८ हजार जनाको मृत्यु भएको छ भने ६७ हजारभन्दा बढी घाइते भएका छन् । लडाकु समूह हमासको आक्रमणबाट इजरायलमा ११ सय ३९ जनाको मृत्यु भएको थियो ।