अधिकांश सिटमा इमरान खानका उम्मेदवार अगाडि

अधिकांश सिटमा इमरान खानका उम्मेदवार अगाडि


ग्लोब नेपाल
189
Shares

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा भ्रष्टाचार आरोपमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित उम्मेदवार अगाडि देखिएका छन् ।

प्रारम्भिक मतपरिणाममा पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो समाचार तयार पार्दासम्म १ सय २० सिटमा पीटीआई समर्थित उम्मेदवार अगाडि छन् । आफ्ना उम्मेदवारहरुले अग्रता लिएपछि पीटीआई समर्थकले ठाउँठाउँमा विजय जुलुस निकालेका छन् ।

सरकारले पीटीआईलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएपछि सो दलका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कतिपय उम्मेदवारले जेलबाटै चुनाव लडेका छन् । नेशनल एसेम्लीका कूल ३ सय ३६ सिटमध्ये २सय ६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो ।

१ सय ६९ सिट जित्ने दलको नेतृत्वमा सरकार गठन हुनेछ । यसैबीच पीटीआई अध्यक्ष गौहर रजाले आफ्नो दलका १ सय ५० भन्दा बढी उम्मेदवार निर्वाचित हुने र मुलुकको इतिहासमा पहिलोपटक जेलमा रहेका इमरान खान प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

आफ्ना उम्मेदवारहरुले जित्ने भएपछि मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरिएको आरोप उनले लगाए । निर्वाचनअघि गरिएका प्रक्षेपणहरुले नवाज सरिफको दलले बहुमत ल्याउने देखाएको थियो ।