कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री



विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यहाँ यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो ।

मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

आज कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ

यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ ।

यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

योसँगै प्रदेश मन्त्रिपरिषद सदस्यको संख्या १० पुगेको छ ।

शुक्रबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ समेत गराएका छन् ।

एमालेको सहयोगमा कांग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २८ गते सपथ लिएका थिए ।

कार्कीले कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए ।