गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु



गाजा । दक्षिणी गाजापट्टी सहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

घटनामा दर्जनौँ अन्य घाइते भएका छन् । बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ ।

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, ‘रफाहमा हालैका घन्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एक घर निशानामा परेको छ ।’

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेस्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए ।

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो ।

रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ ।