राष्ट्रिय उत्सवका रुपमा जनयुद्ध दिवस मनाउन प्रचण्डको अपिल

राष्ट्रिय उत्सवका रुपमा जनयुद्ध दिवस मनाउन प्रचण्डको अपिल


ग्लोब नेपाल
486
Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन अपिल गरेका छन् । २९औं जनयुद्ध दिवसका अवसरमा मंगलबार एक सन्देश जारी गर्दै उनले आजको दिनलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा जनसमुदायमा अपिल गरेका हुन् ।

जनयुद्धको नेतृत्व आफ्नो दलले गरेको भए पनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवस रहेको उनको भनाइ छ । प्रचण्डले जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।

जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको प्रचण्डले उल्लेख गरेका छन् । माओवादी जनयुद्धकै कारण सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको दाबी उनको छ ।

प्रचण्डले जनयुद्धको जगमा स्थापित भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको समेत बताए । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको पनि उनले उल्लेख गरे ।

‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, सन्देशमा उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ ।’

प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे । परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरे ।