रुविना क्षेत्री नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी

रुविना क्षेत्री नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी



काठमाडौं । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ थियो । २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । रुबिनाको शतकमा मलेसियामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २२७ रन जोडेको छ । 

यो स्कोर नेपाली महिला टिमको टी-२० मा अहिलेसम्मकै उच्च स्कोर हो ।  यसअघि नेपालको टी-२० महिला अन्तर्राष्ट्रियमा उच्च स्कोर १६४ रन थियो ।

रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा क्रिजमा छिन् ।

खेलमा रुबिनासँगै पूजा महतोले पनि उत्कृष्ट ब्याटिङ गरिन् । उनले पनि अर्धशतक प्रहार गर्ने क्रममा ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५९ रन बनाइन् ।