रुविनाको शतकमा नेपालले मालदिभ्सलाई दियो २२८ रनको कीर्तिमानी लक्ष्य

रुविनाको शतकमा नेपालले मालदिभ्सलाई दियो २२८ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् । पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।

नेपालबाट यो कुनै पनि विकेटका लागि भएको महिला टी२० आईको उच्च साझेदारी हो ।

रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन् ।