स्याङ्जाको वायँटारीमा एकै रात ५ पसल, ४ घर र १ विद्यालयमा चोरी

स्याङ्जाको वायँटारीमा एकै रात ५ पसल, ४ घर र १ विद्यालयमा चोरी


ग्लोब नेपाल
54
Shares

पछिल्लो समय स्याङ्जामा चोरीको घटना बढ्न थालेको छ । आईतबार राति वालिङ-१३ को झलुङ्गे बजारमा एकै रातमा पाँचवटा पसल, चार घर र एउटा विद्यालयमा तोडफोड गरेर चोरी भएको छ ।

बजार क्षेत्रमा भएको चोरीको कारण यहाँका स्थानीयहरु त्रसित बनेका छन् । दशवटा घरबाट चार तोला बढी सुन, एक लाख छब्बिस हजार नगद, सिसी क्यामेराको हार्ड डिस्क र कम्प्युटर समेत चोरी भएपछि यहाँका स्थानीयले चोरी गर्ने गिरोह तत्काल पत्ता लगाउन वडा प्रहरी कार्यालय वालिङमा दवाव दिएका छन् ।

एकैरातमा बजारको झण्डै एक दर्जन घरमा चोरी भएपछि यहाँका स्थानीय रातभर राम्रोसँग सुत्न पाएका छैनन् । यो प्रवृतिको चोरीले गाउँघरमा रहेका बृद्धहरुलाई समेत चुनौती थपेको वडा अध्यक्ष नमलाल डुम्रेको भनाई छ ।

जिल्ला प्रहरी र वडा प्रहरीले घटनाको छानविन शुरु गरेको छ भने सिसि क्यामेरामा कैद भएका दृश्यहरुलाई थप अनुसन्धान गरीरहेको छ । बाक्लो जनघनत्व रहको वालिङमा पर्किङ गरिएका स्कुटर, मोटरसाईकल, सुन र नगद चोर्नेको संख्या बढ्न थालेको छ ।

स्मार्ट नगर भनेर प्रचार गरीएको वालिङ क्षेत्रका चोकचोकमा गुणस्तरीय सिसी क्यामेरा जडान गर्नुपर्ने माग स्थानीयको छ । ५० भन्दा बढी वित्तीय संस्था रहेको वालिङमा सामाजिक उत्तरादायित्व अन्तर्गत बैँक र नगरपालिकाले गुणस्तरीय सिसी क्यामेरा जडान गर्न चासो लिने हो भने यस्ता चोरी गर्ने गिरोह तत्काल पत्ता लगाउन सकिने नगरवासीको बुझाई छ ।

लागू औषधको प्रयोगकर्ता र बेरोजगार युवाहरुमा आर्थिक अभाव बढ्दै जानुले पनि यस्ता घटनाहरु बढेको देखिन्छ ।