‘अमेरिकन आइडल’ छोड्ने केटी पेरीको घोषणा

‘अमेरिकन आइडल’ छोड्ने केटी पेरीको घोषणा


ग्लोब नेपाल
81
Shares

लसएन्जल्स । अमेरिकी गायिका केटी पेरीले अमेरिकी गायन रियालिटी शो ‘अमेरिकी आइडल’ छोड्ने भएकी छन् । सात सिजनमा जज बनिसकेकी ३९ वर्षीया केटीले गत सोमबार राती जिमी किमेल लाइभमा शो छोड्न लागेको खुलासा गरेकी हुन् ।

‘मलाई लाग्छ कि यो मेरो अन्तिम शो हो । आइडलका लागि मेरो अन्तिम सिजन हुनसक्छ’, उनले भनिन् । उनले आफ्नो निर्णयको व्याख्या गर्दै आफूले संसार हेर्न चाहेको उल्लेख गरेकी छन् । योसँगै उनले नयाँ गीत श्रोता र दर्शकमाझ ल्याउने संकेत पनि दिएकी छन् ।

पेरी सन् २०१८ देखि यो शोको निर्णायक रहँदै आएकी छन् । जिमीले केटीलाई ‘अमेरिकन आइडलमा कति समय बस्ने ?’ भनेर सोधेपछि ‘द रोर’ गायिकाले आफूले शो छोड्न लागेको खुलासा गरेकी हुन् ।

‘यसले मलाई अमेरिकाको मुटुसँग जोडेको छ, तर मलाई लाग्छ कि म बाहिर जानुपर्छ र त्यो नाडी आफ्नै धड्कनमा महसुस गर्नुपर्छ’, उनले कारण खोलेकी छन् । तर उनले भविष्यमा शोमा फर्कने कुरालाई पूर्ण रूपमा अस्वीकार गरिनन् । ‘यदि तिनीहरुले एक दिन मलाई पाउन चाहे भने म फर्केर आउनेछ’, उनले भनेकी छन् ।

पेरी गत आइतबार अमेरिकन आइडलको बीसौं सिजनको प्रिमियर अघि जिमी किमेल लाइभमा उपस्थित भएकी हुन् । जहाँ उनी निर्णायक मण्डलका अन्य सदस्य सोल एण्ड आरएण्डबी लेजेन्ड लियोनेल रिची र कन्ट्री सिंगर लुक ब्रायनसँगै बसेकी थिइन् ।

केटीको निर्णयमा जुरीका दुई सदस्यले कस्तो प्रतिक्रिया जनाए भनेर जिमीले सोधेका थिए । ‘उनीहरूलाई थाहा छ कि मैले यो वर्षका लागि केही योजनाहरु बनाएको छु । म नयाँ पखेटाका लागि ठाउँ सिर्जना गर्दैछु’, केटी भन्छिन्, ‘उनीहरूले सोचे, म केही समयका लागि स्टुडियोमा छु । त्यसकारण उनीहरूले केही छ भनेर सोचे ।’

‘क्यालिफोर्निया गल्र्स’ गायिकाले गत वर्षको मेमा राजा चाल्र्स तृतीयको टेलिभिजन कोरोनेसन कन्सर्टमा दिइएको प्रस्तुतिलाई पनि स्मरण गरेकी छन् ।

पेरीले सन् २००८ मा गीत ‘आइ किस्ड ए गर्ल’बाट लोकप्रियता पाइन् । सन् २०१० को सुरुवातमा यो गीत चार्टमा हाबी नै भयो । उनले सन् २०२० मा अन्तिम एल्बम ‘स्माइल’ रिलिज गरेकी थिइन् ।

उनी ‘अमेरिकन आइडल’का पूर्व निर्णायकहरू सिमोन कोवेल, पाउला अब्बुल, मारिया कारे र निकी मिनाजको पाइला पछ्याउँदै सन् २०१८ मा एबीसीको ‘अमेरिकन आइडल’को १७ औं सिजनबाट निर्णायकका रूपमा जोडिइन् ।

यो शोमा जोडिएपछि केटी केही विवादमा पनि तानिइन् । सन् २०१८ मा एक प्रतियोगीले उनको ओठमा चुम्बन गर्दा उनले आफूले पहिलो पटक चुम्बन गरेकाले असहज महसुस भएको बताएकी थिइन् ।

गत वर्ष पेरीले आफ्नो पाँच स्टुडियो एलबमको अधिकार २२ मिलियन डलरमा बेचेकी थिइन्, त्यसपछि गत नोभेम्बर दुई वर्षदेखि लसएन्जल्समा बस्दै आएको रेसिडन्सीको अन्त्य गरेकी थिइन् । उनले अभिनेता ओर्लान्डो ब्लुमसँग विवाह गरेकी छन् । उनीहरूसँग तीन वर्षकी छोरी डेजी डोभ छिन् ।