काठमाडौं । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् ।
यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।
कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।
तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।
नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।
प्रतिक्रिया