रौतहटमा एमाले परित्याग गरी दर्जन बढी कांग्रेसमा प्रवेश

रौतहटमा एमाले परित्याग गरी दर्जन बढी कांग्रेसमा प्रवेश



रौतहट । रौतहटमा एकदर्जन भन्दा बढी मानिस नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो ,उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ का कांग्रेसका संघीय सांसद प्रत्यासी  डाक्टर फिर्दौश आलमले नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गरेका थिए ।

राजपुर नगरपालिकाका मेयर राजीक आलमको सक्रियता तथा विकास प्रतिको लगाव देखेर राजपुर ५ का बासिन्दाहरू नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय राजन साहले बताए । उक्त अवसरमा सांसद प्रत्याशी डाक्टर फिर्दौश आलम , मेयर राजिक आलम लगायतको उपस्थिति रहेको थियो । डाक्टर फर्दौश, मेयर राजिक दाजुभाइ पूर्व मन्त्री माेहम्मद अफताव आलमका छोरा हुन् ।

हत्या अभियाेगमा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि उनको स्थानमा उनको छोरा डाक्टर आलम नेपाली कांग्रेसको टिकटबाट क्षेत्र २ मा गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी चुनाव लडेका थिए । उक्त क्षेत्रमा तत्काल पूर्व मन्त्री प्रभु साहको साथ रहेका किरण साह स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी आलमको कान्छो छोरा राजिक आलम नेपाली कांग्रेस पार्टीकै टिकटबाट गत स्थानिय निर्वाचनमा मेयर पदमा विजयी भएका थिए । उनी मेयर भएदेखि नै शिक्षा, स्वास्थ र भौतिक पूर्वाधार निर्माणको काममा विशेष चासो देखाएका छन् ।