नामिबियासँग ४ विकेटले नेपाल पराजित

नामिबियासँग ४ विकेटले नेपाल पराजित



काठमाडाैं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले ।

ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।

करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।