पोखरामा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण

पोखरामा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण



पाेखरा । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कांग्रेसले देशको आमूलपरिवर्तनमा विशिष्ट योगदान गरे पनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताए । राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उनले स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताए । नेपाली समाजमा कांग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पुर्‍याउनुपर्ने आवश्यकता उनले औँल्याए ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादलाई मूल आदर्शका रुपमा लिँदै स्थापित कांग्रेस स्थापनाका मूलआदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बनेको बताए । जनताले अनुभूति गर्ने किसिमको कांग्रेस बनाउनुपर्नेमा उनले जोड दिए । कांग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट सङ्कल्पपत्र तयार गरिएको उल्लेख गर्दै उनले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताए ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठलगायतले कांग्रेसलाई आम जनतामाझ पु¥याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका पार्टीका उपसभापतिसहित ८८ जना सहभागी रहेका कांग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।