क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने

क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ ।

आज (शनिबार) प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि उक्त ढुंगा गोरखा दरबारमा वा संग्रहालय कहा राख्ने भन्ने बिषय अन्योलता रहेको थियो । प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यो ढुंगा गोरखामै राख्ने भन्ने मन्त्रीपरिषदबाट निर्णय भइसक्यो भन्ने कुरा थियो, तर म आएर माथि बुझ्दा त्यसको औपचारिक प्रस्ताव पनि नआएको र निर्णय पनि नभएको भन्ने थाहा भयो, ‘स्थानीयको सेन्टिमेन्टको हिसाबले गोरखामै राख्नुपर्छ भनेर मैले मेरो तर्फबाट पनि सक्दो पहल गर्दै नियमित फलोअप जस्तै गरेँ ।

हिजो बल्ल उक्त ढुंगा गोरखामै राख्ने मन्त्रिस्तरको निर्णय भएको छ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हामीलाई पत्र आयो ।’ शुक्रबार मन्त्रीस्तरको निर्णयको जानकारी आएको र स्थानीय तहको व्यवस्थापनमा आवश्यक सुरक्षासहित उचित स्थानमा संरक्षण गरेर राख्न भनिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएका छन ।

गोरखा दरबार परिसरमा सर्वसाधारणले देख्ने गरी उक्त ढुंगा विशेष सुरक्षाका साथ राखिने उनले जानकारी दिएका छन । गत असार १४ गते प्रहरीले गोरखा सदरमुकाम नजिकै सतिपीपलस्थित एक घरबाट क्वार्ज क्रिष्टल बरामद गरीएको थियो ।

महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि घरबाटै बरामद गरेर ल्याएको प्रहरीले जानकारी दिएको छ । खानी तथा भूगर्भ बिभागबाट आएका भूगर्भविदहरुले परीक्षण गरी उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर रहेको बताएका थिए । ५४ केजी तौलको उक्त ढुंगा नेपालमा बिरलै पाइने जानकारी गराउँदै उक्त ढुंगा विभागमा पठाउन समेत आग्रह गरिएको थियो ।