‘देशभित्रै सम्भव छ’ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न आवश्यक छ: प्रधानमन्त्री

‘देशभित्रै सम्भव छ’ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न आवश्यक छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायहरूको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो।’’

प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए ।

प्रधानमन्त्रीले भने, ‘‘मैले विश्वविद्यालय लगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु, त्यसको कार्यान्वयन पनि हुँदैछ। यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आम नागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु।’’