मन्त्रिपरिषद् बैठकमा ज्वाला र नारायणकाजीबीच चर्काचर्की, प्रधानमन्त्रीद्वारा हस्तक्षेप

मन्त्रिपरिषद् बैठकमा ज्वाला र नारायणकाजीबीच चर्काचर्की, प्रधानमन्त्रीद्वारा हस्तक्षेप


ग्लोब नेपाल
108
Shares

काठमाडौं । वर्तमान सरकारका दुई मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा चर्काचर्की भएको छ । हिजो आइतबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबीच चर्काचर्की विवाद भएको हो ।

बालकुमारी घटना चाँजबुझ आयोगको प्रतिवेदनका विषयलाई लिएर दुईमन्त्रीबीच विवाद भएको प्रधानमन्त्री कार्यालयले बतायो । सरकारद्वारा गठित आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा बालकुमारी घटनामा गोली चल्दा दुई युवकको मृत्यु हुनुमा मन्त्री ज्वालाको मुख्य कमजोरी रहेको उल्लेख छ । गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेका बेला ज्वाला सोही बाटो भएर आउने क्रममा युवाले उनी सवार गाडी जलाएका थिए । उक्त घटनापछि प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गयो ।

सरकारले उक्त घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको थियो ।

आयोगको प्रतिवेदनमा प्रदर्शन भएको जान्दाजान्दै ज्वाला सोही बाटो भएर गएका कारण घटना भएको औंल्याइएको छ । तर, ज्वाला भने सो कुरा स्वीकार गर्न तयार छैनन् । उनले आफ्नो कारण घटना नभएको भन्दै त्यसको जिम्मेवारी गृहमन्त्री र प्रहरी नेतृत्वले लिनुपर्ने बताउँदै आएका छन् ।

यस्तो रिसइबी
श्रोतका अनुसार मन्त्री ज्वालाले प्रतिवेदनमा आफूमाथि प्रतिशोध साँध्नुमा जाँचबुझ आयोगका सदस्यसमेत हरेका गृह प्रवक्ता भट्टराई र मन्त्री श्रेष्ठको सम्बन्ध कारण रहेको दाबी गरेका छन् । आफू भौतिक पूर्वाधार मन्त्री भएपछि नक्कली सवारी चालक अनुमतिपत्र दिलाउने काममा संलग्न रहेको भन्दै भट्टराईमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सआईबी) लाई पत्राचार गरेका कारण भट्टराई र श्रेष्ठले बदला लिएको दाबी ज्वालाको छ ।

ज्वालाअघि उक्त मन्त्रालयको नेतृत्वमा श्रेष्ठ थिए । श्रेष्ठले आफू भौतिक पूर्वाधार मन्त्री भएका बेला भट्टराईलाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । ज्वालाले नक्कली लाइसेन्स वितरण मात्र गरेको नभई चालक अनुमतिपत्र नभएका एउटा मोटरसाइकल चालकले पैदलयात्रीलाई ठक्कर दिएर मारेको र घटनापछि दोषी उम्काउन भट्टराईले पुरानै मितिमा चालक अनुमतिपत्र बनाइदिएको आरोपसमेत लगाएका छन् ।

‘मोटरसाइकलले हानेर मान्छे मारेपछि उसलाई जोगाउन पुरानो मिति राखेर लाइसेन्स जारी गरेको विषयमा मैले कारबाही गर्न अख्तियार र सीआईबीमा लेखेर पठाएको थिएँ’, ज्वालाले प्रधानमन्त्रीसँग भने, ‘त्यही बदला लिन गृहमन्त्री र सहसचिव भट्टराईले नियतबस मेरोविरुद्धको प्रतिवेदन तयार पार्नुभयो ।’

प्रतिवेदनबारे समाचार सार्वजनिक भएपछि ज्वालामाथि नैतिकताका आधारमा सरकार छाड्नुपर्ने दबाब बढेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार एमाले सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ज्वालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन आइतबार आफूले बुझ्ने र अध्ययनपछि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।