डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन

डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन


ग्लोब नेपाल
54
Shares

रौतहट।  पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै  विसर्जन गरिएको छ ।  मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।

ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा  नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । 

बैठकलगत्तै संघीय सांसद किरणकुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनैजना डिआईजी, दलका प्रतिनिधि सम्मिलित टोली स्थलगत पुगेर चारदिनदेखि थन्किएको मूर्ति विसर्जन गरिएको हो । यसअघि संघीय संसद किरणकुमार साहको पहल तथा सिडिओ रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घिउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो । सोही निर्णयअनुसार मूर्ति विसर्जन गरिएको छ । 

शनिवार भएको सहमतिअनुसार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा स्थानीयले घरको छतबाट ढुङ्गा हान्दा कार्तिकेश ठाकुर लगायतका घाइते भएका थिए । त्यसपछि बिग्रिएको स्थितिलाई नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्छृखंल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियाे ।