क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी



काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।