बालकुमारी घटनाबारे निर्णय लिँदैछुः प्रचण्ड

बालकुमारी घटनाबारे निर्णय लिँदैछुः प्रचण्ड


ग्लोब नेपाल
459
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले अध्ययन गरिरहेको बताएका छन् ।

सिंहदरबारमा शनिबार बिहान बसेको पार्टी संसदीय दल बैठकलाई सम्बोधन गर्दै उनले सरकारले घटना भएलगत्तै आयोग बनाएर छानबिन गरेको र आफूले प्रतिवेदन अध्ययन गरिरहेको भन्दै राजनीतिक संस्कार प्रदर्शन गर्न प्रतिपक्षलाई आग्रह गरे ।

अध्ययन सकिएपछि त्यसबारे आवश्यक निर्णय लिने उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा छानबिन आयोगले घटनामा दोषी किटान गरेका भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वाला, टेलिकमको टेरामक्स खरिद प्रकरणमा भएको अनियमतताबारे अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा मागेर संसदमा हंगामा गरेका थिए ।

‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं’, उनले भने, यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’

संसदमा एमालेले प्रधानमन्त्रीले यसअघि रोष्ट्रममै उभिएर बालकुमारी घटनामा दुई युवाको हत्या भएको भनेकाले हत्यारामाथि कारबाही किन नगरिएको भन्नेबारे ३ दिनभित्र सदनलाई जानकारी हुनुपर्ने माग राखेको छ ।