गृह राज्यमै ट्रम्पबाट पराजित भइन् निक्की हेली

गृह राज्यमै ट्रम्पबाट पराजित भइन् निक्की हेली



वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन दलको उमेदवारका रुपमा छानिने एक कदम नजिक पुगेका छन् । निक्की हेलीको गृह राज्य दक्षिण क्यारोलिनामा ट्रम्पले ठुलो मतअन्तरका साथमा प्राइमरीमा हेलीलाई हराएका छन् ।

‘हामी जो बाइडेनको आँखामा आँखा मिलाउनेछौं ।’ शनिबार राति प्राइमरीको नतिजा घोषणा भएपछि उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने । बाइडेनले अमेरिकालाई ध्वस्त पारिरहेको भन्दै उनलाई ‘बाहिर जाउ जो, तिमी बर्खास्त भयौं’ भन्ने पनि उनले बताए ।

शनिबारको जितपछि उनले पार्टी एकताको पनि खुलेर प्रशंसा गरेका थिए । रिपब्लिकन दल यस अघि यत्तिको एकताबद्ध आफूले कहिले नदेखेको ट्रम्पको भनाई थियो । हेली २ पटक दक्षिण क्यारोलिनाको गभर्नर भइसकेकी छिन् । आफूले ४० प्रतिशत मत पाएको र यो सानो मत नभएको भन्दै हेलीले उमेदवार चयनको दौडमा आफू रहिरहने वाचा गरेकी थिइन् ।