वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता



पर्सा । वीरगञ्जको रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए ।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेकाे स्वास्थ्यकर्मीले बताए । अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ । यसअघि सीताका तीन छोरी जन्मिएका थिए । उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका हुन् । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिएनन् ।

आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले दिइन् ।

“अस्पतालमा सासु र बुहारी मात्रै आएका थिए । श्रीमान खाेइ भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भनिन्, “छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन् । शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन । हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन ।” शिशु स्वस्थ रहेको र आईसीयूमा राखिएको थापाले बताइन् ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ । उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

“उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन । पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,” डीएसपी थापाले भने । उनीहरूको खोजतलास जारी रहेको उनको भनाइ छ ।