ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब

ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन् ।

क्यानले गरेको वर्गीकरणअनुसार कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल ग्रेड ‘ए’ मा परेका हुन् । उनीहरूले मासिक १ लाख पाउने क्यानले जनाएको छ ।

ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।

यता इमर्जिङ क्याटेगोरीमा परेका दिपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामीले मासिक २५ हजार पारिश्रमिक पाउने छन् ।

महिलातर्फ भने ग्रेड ‘ए’ मा कप्तान इन्दु वर्मा, रुविना क्षेत्री र सिता राना मगर परेका छन् । उनीहरूले मासिक ५० हजार पाउने भएका छन् ।

ग्रेड ‘बी’ मा कविता कुँवर मात्र छन् र उनले ३५ हजार पाउने क्यानले जनाएको छ । ग्रेड ‘सी’ मा परेका पुजा महतो र अश्मिना कर्माचार्यले ३० हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावलले मासिक २५ हजार पारिश्रमिक पाउने छन् ।

इमर्जिङ क्याटेगोरीतर्फ परेका सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविनले २० हजार पाउने छन् ।