नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । रोमाञ्चक खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएरु १७७ रनमात्र जोड्न सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।