गठबन्धनलाई हामीले नोटिसमा राखेका छौँ : राजेन्द्र लिङदेन

गठबन्धनलाई हामीले नोटिसमा राखेका छौँ : राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सत्ता गठबन्धनले भनेको कुरालाई आफ्नो दलले नोटिसमा लिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले गठबन्धन दलले राप्रपाको दुष्प्रचार गरेकोले भोलि राप्रपाको सहयोग खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका हुन ।

राप्रपाले सरकारमा नजाने भनिसकेको अवस्थामा गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी नगराउने भनेर प्रचार गरेकोको कुरालाई नोटिसमा राखेको बताए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो कुरालाई नोटिसमा राखेको छ, हाम्रो पार्टी यो सत्ता केन्द्रित चलखेलमा संलग्न छैन र हुँदैन भनेर हामीले स्पष्टसँग भनिसकेपछि पनि जुन विषय आयो कि राप्रपाले सहभागी हुन खोजेरपनि नपाएको भन्ने कुरा । यो कुरामा भ्रम नरहोस्, यो कुरालाई नोटिसमा राखेका छौँ । तपाईँको यो गठबन्धनले पर्सी नै राप्रपालाई खोज्ने दिन नआओस् ।’

अध्यक्ष लिङ्देनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे ।

अध्यक्ष लिङ्देनले संसदमा बोल्ने सबै दलका नेताहरुले देशको अहिलेको अवस्था ठिक छैन भनेर बोलेको बताउँदै त्यसको कारक अन्य दलहरुले भन्ने गरेको राजसंस्था हो कि विदेशी शक्ति हो भन्दै प्रश्न गरे ।

उनले अहिले देशको यो अवस्था हुनुमा याे व्यवस्था नै कारक रहेको बताए । हिजो सुविचारका साथ यो व्यवस्था ल्याइएको हो भने यसमा कैयौँ त्रुटि नै त्रुटि रहेको उल्लेख गरेर त्रुटिहरुको डङगुरमा बसेर देश र जनताको अवस्थामा परिवर्तन गर्न नसकिने उनले बताए ।

अध्यक्ष लिङ्देनले सबै पक्ष बसेर यो व्यवस्थालाई परिवर्तन गरेर जानुको विकल्प नभएको बताउँदै यो व्यवस्था संसारको सुन्दर व्यवस्था भनेर ढिपी गरिराख्ने र टिकाइराख्ने हो भने देश र जनतामाथि धोका र बेइमानी हुने टिप्पणी गरे ।

२०७९ पुस १० गते आफूहरु प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको तर केही समयमा नै प्रधानमन्त्रीले बाटो फेरेपछि अलग भएको लिङ्देनले बताए ।