काठमाडौं । प्रहरीले बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु रहेकी प्रहरीले जानकारी दिएको छ ।
३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन । मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी लिम्बुले रविन सौजु समेत ४ जनासँग २९ लाख ८८ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी हुन् । रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले उजुरी गरेका थिए । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिएका छन ।
प्रतिक्रिया