मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद्को निर्णय

मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।