ललितपुरको महत्वपूर्ण ‘यल इतिल्हन सम्यक’ पर्व सुरु

ललितपुरको महत्वपूर्ण ‘यल इतिल्हन सम्यक’ पर्व सुरु


ग्लोब नेपाल
189
Shares

ललितपुर । ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्वपूर्ण बोकेको यल इतिल्हन सम्यक सुरु भएको छ ।

चापागाँउ, बुङ्गमति, कीर्तिपुर, काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेको बहा, बही र महाबिहारबाट बिशाल दिपंकर बुद्ध, आर्यतारा लगायत १ सय २५ वटा सम्यक देवदेवीहरुलाई अधिल्लो रात मंगलबजारमा भेला गराई बाजागाजाकासाथ ललितपुरको नागबहाल पुर्‍याएपछि यो पर्व सुरु हुने गर्दछ ।

दिपंकर पर्वका रुपमा समेत परिचित यस पर्व हिरण्यवर्ण महाबिहारको स्वर्ण मन्दिर स्थापना गर्न राजा भाष्करदेवका सन्तती भलिभारोलाई त्रिरत्नको आशिषबाट प्राप्त धनबृद्ध प्रति कृतज्ञ हुँदै श्रद्धापुर्वक दान दिने उद्येश्यले बिभिन्न बिहारका दिपंकर र आर्यतारा लगायत अन्य देवीदेवताहरु श्रावणेर ब्रम्हचर्य भिक्षु शाक्य भिक्षु तथा बज्राचार्य गुरुहरुलाई आमन्त्रण गरी सम्यक महादान दिई यो पर्वको थालनी गरेको आयोजकको भनाइ छ ।

बिक्रम सम्वत १८६१ सालसम्म प्रत्येक बर्ष मनाउँदै आएको यो पर्व त्यसबेलाका राजा रणबहादुर शाहले सम्यक गुठीको जग्गा अधिकरण गरेपछि आयस्थाको कमिले प्रत्येक चार बर्षसम्म आयस्था जम्मा गरी पाँचौ बर्षमा यो पर्व मनाउने गरेको संस्कृतिबिद लोकरत्न शाक्यले बताए ।

दान पारमिताको अभ्यासका रुपमा लिइने सम्यक महादान पर्वमा कसैलाई चित्त नदुखाई हर्षकासाथ आफुले कमाएको धन सम्पतिलाई सुद्ध मनले निश्वार्थ भई दान दिन काठमाण्डौ ललितपुर भक्तपुरका साथै अन्य जिल्लाहरुबाट समेत भक्तजनहरुको धुइँचो लाग्ने गर्दछ ।

आज दिनभर भक्तजनहरुलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरुको मूर्तीलाई आ-आफ्नो बासस्थान फर्काएपछि पर्व समापन गरिन्छ ।