धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए । चौधरीले भने, ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ । हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ । प्रदेश पनि स्वायत्त हो । यसले नयाँ सन्देश पनि जान्छ ।’
बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् ।
नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।
संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।
प्रतिक्रिया