गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङे बने मन्त्री

गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङे बने मन्त्री



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गगठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ ।