नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले

नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् ।

यसका अतिरिक्त आईसीसी अध्यक्षले नेपाल भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग पनि नेपालमा क्रिकेट विकासको विषयमा केन्द्रित रहेर छलफल गर्ने कार्यतालिका रहेको छ ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत आएका थिए ।

‘नेपाली क्रिकेटको विषयमा यसअघि पनि धेरै सुनेको थिएँ । आज आफ्नै आँखाले हेर्ने अवसर पनि जुरेको छ,’ उनले भनेका छन् । उनले नेपाली क्रिकेट समर्थकको प्रशंसा पनि गरेका छन् । उनले समर्थकहरु नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति भएको पनि बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता राख्न सुझाव दिए ।