आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे । कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए ।

त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो ।

दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरेका हुन् । थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।