म्याच फिक्सिङ आरोप लागेका क्रिकेटरले पाए सफाई

म्याच फिक्सिङ आरोप लागेका क्रिकेटरले पाए सफाई



काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो ।

गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।

गत माघ ९ गते पक्राउ परेका अन्सारी र आलमलाई जिल्ला अदालतले तीन लाख धरौटीमा छोडेको थियो ।

गत बर्ष ९ देखि २७ पुसमा काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकैक्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेका नवीन कँडेल र रवि माझी भने फरार रहेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।

महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।