नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य



काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्नेक्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९८ रन जोड्यो ।

नेपालका लागि गुल्सन झाले ४६ रन जोडे । उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे । त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रनमा आउट भए ।

यस्तै अनिलकुमार साहले १२ रन र कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए । अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन जोड्दा विवेक यादवले नटआउट ७ रन जोडे ।

बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट र बेन ह्वाइटले २ विकेट लिए ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम यसैसाता भारत जानेछ ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ ।