आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ७१ रनले विजयी

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ७१ रनले विजयी



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।

आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।

त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एकएक विकेट हात पारे ।

त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।