८४ मा एमालेलाई कसैको बैशाखी आवश्यक पर्दैन : पूर्वमुख्यमन्त्री राई

८४ मा एमालेलाई कसैको बैशाखी आवश्यक पर्दैन : पूर्वमुख्यमन्त्री राई



उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले ८४ काे निर्वाचनमा एमालेले कसैको बैशाखी र गठबन्धनमा निर्भर नरहने बताएका छन् । नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै राईले आगामी तीन वर्ष नेकपा एमालेको मिसन ८४ को वर्ष भएकाले यसबीचमा जनताको कामलाई तीव्रता दिने बताए ।

पूर्वमुख्यमन्त्री राईले मुलुकको समृद्धि र अर्थतन्त्र एमालेबाहेक अरु दलबाट सफल नहुने भएकाले ८४ मा एमाले एकल बहुमतको सरकार बनाउने अभियानमा अहिलेदेखि नै लागि परेको बताए ।
उनले जनता बिनाको नेता र पार्टी नहुने भएकाले जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताए ।

‘हिजो एमाले नेतृत्व र अहिले अन्य दलको नेतृत्वमा हुँदाको विकासको कामलाई तुलना गर्नुस् कति फरक पाउनु हुनेछ,’उनले भने, ‘सत्ताको बागडोर सम्हाल्नु ठूलो कुरा हैन, भिजनसहित योजना निर्माण गर्नु पर्दछ ।’ राईले यतिबेला पार्टी निर्माणको चरण र मिसन ८४ मा रहेकाले सर्वसहमत नेतृत्व चयन गर्न आग्रह गरे ।