बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । नेपालका लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेर शतक बनाए पनि अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि नेपाल पराजित भएको हाे ।

नेपालका लागि बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हाे ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुनेछ ।