संगठन निर्माणमा जुट्न कांग्रेस प्रवक्ता डा.महतको आग्रह

संगठन निर्माणमा जुट्न कांग्रेस प्रवक्ता डा.महतको आग्रह


ग्लोब नेपाल
270
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यकर्ताहरुलाई संगठन विस्तारमा जुट्न आग्रह गरेका छन् । शनिबार नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको संगठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक बिमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता महतले पार्टीको गतिविधि वडा हुदैँ गाँउटोलसम्म पुर्‍याउन निर्देशन दिए ।

“पार्टीको सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्लातहसम्मका नेता–कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ ।” उनले भने “सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टीका सदस्यहरु जिल्ला धाउने बनाउनुहुन्न उनीहरुकै घरमा भेट्न पुग्नुपर्छ ।”

पछिल्लो समय पार्टी भित्रको गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको अशल कार्यको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टीका प्रतिनिधिले गरेका राम्रा कार्यको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिए ।

देशको शासन व्यावस्थाको सुधार, संबिधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा काँग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उनको भनाई छ । “पार्टी सरकारमा हुदाँ होस् वा नहुदाँ, जनताको हितमा हुने राम्रो काममा काग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागिरहन्छ, लाग्नुपर्छ ।” उनले भने ।

डा.महतले यसअघि आफू अर्थमन्त्री हुदाँ बजेट बिनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अबस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताए । “जनताबाट प्राप्त कर जनताको हितको लागी विकास निर्माणमा खर्चिनुपर्छ भनेर बजेट बिनियोजनको बेथितीको सुधार गरिएको छ ।” उनले भने “राजश्व र बैदेसिक लगानी बृद्धि, बैंक तथा वित्तिय सँस्थाको ब्याजदर घटाई शेयर बजारलाई सुधार गर्न सक्षम भएका छौ ।” अहिलेको सुधारको संकेतलाई नियमित बनाउने हो भने देशको अर्थतन्त्र आगामी दिनमा थप मजबुद बन्दै मुलुक आर्थिक समृद्धितर्फ लम्कने उनको विश्वास छ ।