मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत नदिने

मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत नदिने



हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई विश्वासको मत नदिने भएको छ । आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन् ।

माओवादी केन्द्र र एमालेले जुन-जुन निर्णय गर्छ, ती निर्णय एकीकृत समाजवादीले मान्नु पर्छ भन्ने नभएकाे उनले बताए ।

एकीकृत समाजवादीका तर्फबाट प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान अवस्थामै प्रदेश मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएका छन् ।

मन्त्री डा. श्रेष्ठले प्रदेश सरकारको व्यवहार, गठबन्धन घटक दलप्रतिको धारणामा गम्भीर छलफल नभएसम्म विश्वासको मत दिन नहुने सांसदहरूको धारणा रहेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।

कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।