गुजरातविरुद्ध नेपाल आठ विकेटले विजयी

गुजरातविरुद्ध नेपाल आठ विकेटले विजयी



काठमाडौं । एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

आइतबार भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए । अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए । अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे ।

त्यसअघी गुजरातका ओपनर रुद्र मयुर पटेलले सर्वाधिक २३ रन, आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

आइसिसी टी-२० विश्वकप २०२४ को तयारी गरिरहेको नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ ।

टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।