मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन



मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ । यस प्रदेशको प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।