आयरल्यान्ड ए माथि नेपाल ए को तीन रनको रोमाञ्चक जित

आयरल्यान्ड ए माथि नेपाल ए को तीन रनको रोमाञ्चक जित



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले जित निकालेको छ । यसअघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा आयरल्यान्डलाई ३ रनले पराजित गर्‍यो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो ।

आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

त्यसैगरी आयरल्यान्ड ए लाई ओपनर रस आडैरले १४ बलमा ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपालको जितमा विपिन खत्रीले ३ विकेट, नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १/१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

नेपालको जितमा आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । बसिर अहमद १९ रन, पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए ।

आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए । नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ । आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।