कमलको ह्याट्रिक, आयरल्यान्ड ए १५७ रनमा अलआउट

कमलको ह्याट्रिक, आयरल्यान्ड ए १५७ रनमा अलआउट



काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो ।

नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै अरु बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । कमलले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६‍.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । साहब आलम र मौसम ढकालले दुई/दुई र रिजन ढकालले एक विकेट लिए ।

आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे । कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे ।

आयरल्यान्डका ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ७ रन पाएको थियो ।

नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको थियो ।