नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य



काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार गुजरातलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरे । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुबैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ४४ बलमा दुई छक्का र नौवटा चौकासाथ ६७ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ५१ बलको सामना गरी पाँच छक्का र १० चौकामा ८५ रनको योगदान गरे ।

कप्तान रोहित पौडेल भने तीन, गुलसन झाले चार, कुशल मल्ल एक र सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए भने विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए ।

नेपालले अतिरिक्त रुपमा आठ रन पायो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।