कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।

“सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उनले भने, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।”

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकालभरी धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।

डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए । “कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उनले भने, “योजना छनोटलाई बस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”

शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुङले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको छ ।