गुजरातलाई हराउँदै नेपाल फाइनलमा

गुजरातलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को आफ्नो तेस्रो खेलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध आठ रनको जित निकाल्दै नेपाल लिग चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भारतको वापीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।

गुजरातका कप्तान उमागं पटेलले सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाई २९ रनमा नट आउट रहे ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएकाे थियाे ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरे । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुबैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ४४ बलमा दुई छक्का र नौवटा चौकासाथ ६७ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ५१ बलको सामना गरी पाँच छक्का र १० चौकामा ८५ रनको योगदान गरे ।

कप्तान रोहित पौडेल भने तीन, गुलसन झाले चार, कुशल मल्ल एक र सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए भने विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए ।

नेपालले अतिरिक्त रुपमा आठ रन पायो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।

नेपालले शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । नेपालले बरोडा र गुजरात मध्य एकसँग फाइनल खेल्नेछ ।