एक साताभित्र नयाँ सरकार गठन गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान

एक साताभित्र नयाँ सरकार गठन गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान



सुर्खेत । कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

प्रदेश प्रमुख तिलक परियार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई यही चैत्र २७ गते साँझ ५:५० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन् । प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका शर्माले प्रदेश प्रमुखको कार्यालयमा पुगेर पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री शर्माले प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएपछि राजीनमा दिएका हुन् ।