रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्वीप

रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्वीप


ग्लोब नेपाल
702
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले ह्वीप जारी गरेकी हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन आग्रह गरेकी थिइन । तर श्रेष्ठको निर्देशन विपरीत प्रदेश संसदीय दलले ह्वीप जारी गरेको हो ।

श्रेष्ठले प्रदेश कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाएकी छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ५ सांसदलाई मन्त्री बनाएका छन् ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन आवाश्यक छ ।